राष्ट्रिय परिचयपत्रमा विवरण सच्याउने कसरी? यस्तो छ राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको उत्तर

NID नम्बर प्राप्त भइसकेपछि पनि आवश्यक प्रमाणका आधारमा विवरण सच्याउने व्यवस्था रहेको विभागले जनाएको छ।
राष्ट्रिय परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना वा अन्य व्यक्तिगत विवरण गलत भए त्यसलाई सच्याउन सकिने भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अनुसार नागरिकले राष्ट्रिय परिचयपत्रको आवेदन दिएपछि विवरणमा त्रुटि भेटिएमा आवश्यक प्रमाणका आधारमा सच्याउन सकिन्छ।
NID नम्बर पाइसकेपछि पनि सच्याउन मिल्छ
निर्देशक पाण्डेका अनुसार एनआईडी (NID) नम्बर प्राप्त भइसकेपछि पनि विवरण सच्याउने व्यवस्था रहेको छ। विवरण सच्याउन सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित निवेदन दिनुपर्ने हुन्छ।
प्रिन्ट भए र नभएको अवस्थामा फरक प्रक्रिया
यदि परिचयपत्र अझै प्रिन्ट वा उत्पादन (Production) चरणमा नपुगेको अवस्थामा प्रणालीमै विवरण अद्यावधिक गर्न सकिन्छ। तर, परिचयपत्र उत्पादन भइसकेको अवस्थामा भने सम्बन्धित प्रमाणका आधारमा डेटा अपडेट गरी पुनः प्रक्रिया अगाडि बढाइन्छ।
त्रुटि थाहा पाएमा सकेसम्म छिटो कार्यालय सम्पर्क गर्नु
निर्देशक पाण्डेका अनुसार नागरिकले आफूले उपलब्ध गराएको विवरणमा त्रुटि भएको थाहा पाएमा सकेसम्म छिटो सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउने प्रक्रिया सुरु गर्नुपर्छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकलाई आवेदन दिँदा आफ्नो विवरण राम्रोसँग जाँच गर्न र कुनै त्रुटि भेटिए तत्काल सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।





