हिन्दु राष्ट्र आएपछि राजसंस्था जोडिन्छ, त्यसैले पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन

हिन्दु राष्ट्रसँग राजसंस्था जोडिने भएकाले अहिले त्यसको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन
काठमाडौं, साउन १५ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले हिन्दु राष्ट्रको मुद्दा अहिले अघि बढाउनु उपयुक्त नहुने बताएका छन्। हिन्दु राष्ट्र स्थापना भए त्यससँगै राजसंस्था पनि जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नरहेको उनले स्पष्ट पारे।
शुक्रबार मधेसवादी दलका नेताहरूसँग भएको छलफलका क्रममा नेताहरूले हिन्दु राष्ट्रबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री बालेनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी (नेपाल)का महासचिव रामकुमार शर्माले बालेनले हिन्दु राष्ट्रको विषयलाई विभिन्न क्षेत्रले फरक दृष्टिकोणबाट हेर्ने बताएका जानकारी दिए।
शर्माका अनुसार प्रधानमन्त्री बालेनले भने, "हिन्दु राष्ट्र बनाउनेतिर छैनौँ। तराई/मधेसमा हिन्दु राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ, पहाडतिरको अर्को मर्म छ। हिन्दु राष्ट्र आएपछि राजसंस्था जोडिएर आउँछ। अहिले त्यसो गर्दा ठिक हुँदैन। राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।"
प्रधानमन्त्री बालेनले वर्तमान राजनीतिक व्यवस्थाअन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै राजसंस्था पुनःस्थापनाको पक्षमा आफू नरहेको स्पष्ट पारे।
छलफलका क्रममा मधेसवादी दलका नेताहरू र प्रधानमन्त्रीबीच संघीयता, समसामयिक राजनीतिक अवस्था तथा मधेससँग सम्बन्धित विभिन्न विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।





