प्रधानमन्त्री बालेन शाहको राष्ट्रिय सम्बोधन: सुनसरी–सिराहा घटनामा गहिरो संवेदना, दोषीलाई कडा कारबाही र सामाजिक सद्भावको अपील

प्रधानमन्त्री बालेन शाहको राष्ट्रिय सम्बोधन: सुनसरी–सिराहा घटनामा गहिरो संवेदना, दोषीलाई कडा कारबाही र सामाजिक सद्भावको अपील
सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लामा देखिएको अशान्त वातावरणलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्नुभएको छ।
अत्यन्त संवेदनशील घडीमा बोल्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जय प्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो। उहाँले शोकसन्तप्त परिवारप्रति नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दै घाइते सबै नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। घाइतेको उपचारमा कुनै कमी वा ढिलाइ नहोस् भनी सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, "घटना भएलगत्तै सुरक्षा निकायहरू घटनास्थलमा पुगेर परिस्थिति सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। गृह मन्त्रालयले निष्पक्ष छानबिन समिति गठन गरिसकेको छ। यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।"
परिस्थिति सामान्य बनाउन केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, धार्मिक गुरु, समुदायका अगुवासँग निरन्तर संवाद भइरहेको र गृहमन्त्री स्वयं स्थलगत अनुगमनमा पुगिसकेको जानकारी प्रधानमन्त्रीले दिनुभयो। राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी आवश्यक निर्णयहरू भइसकेको पनि उल्लेख गर्नुभयो।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच बैमनस्य बढाउने अभिव्यक्ति प्रचार–प्रसार नगर्न–नगराउन उहाँले विशेष अनुरोध गर्नुभयो। सरकारी निकायबाट जारी आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न आग्रह गर्दै भन्नुभयो,
"प्रत्येक नागरिकको जीवन–धनको रक्षा, सामाजिक सदभाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च प्राथमिक दायित्व हो।"
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक दिएको स्मरण गराउँदै प्रधानमन्त्री शाहले भन्नुभयो,
"धर्म समाजलाई जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूलसार करुणा, दया, प्रेम र शान्ति नै हो। एक स्थानको दुखद घटनालाई लिएर सम्पूर्ण समुदायलाई आरोपित गर्नु वा अन्य भूभागमा प्रतिशोधको आगो फैलाउनु न्यायसंगत हुँदैन।"
इतिहास साक्षी रहेको बताउँदै उहाँले कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै नेपाली समाजको सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्नुभयो। आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल र जिम्मेवार सञ्चार माध्यमलाई धैर्य र संयम अपनाएर शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गर्नुभयो।
प्रधानमन्त्री शाहले अराजकता फैलाउने वा सदियौंदेखिको सामाजिक सद्भाव खलबलाउने कुनै पनि क्रियाकलापमाथि कडा कदम चालिने चेतावनी पनि दिनुभयो।
Related Posts

सरकारसँग ५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन स्थगित, देशभर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान
सरकारसँग पाँच बुँदे सहमति भएपछि नेपाल चिकित्सक सङ्घले नारायणी अस्पताल घटनापछि जारी आन्दोलन स्थगित गर्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ।





सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, १६ औँ सत्याग्रह अन्त्य
नेपाल सरकार र वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर जारी १६ औँ सत्याग्रह सोमबार अन्त्य भएको छ। सहमतिमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनदेखि विगतका सहमति कार्यान्वयनको अनुगमनसम्मका विषय समावेश गरिएका छन्।